१७ वर्षअघि कान्जी हाउसबाट १ गाई लगेका बाघमाराका शोभाखर भण्डारीको गाई फार्ममा अहिले ४८ गाई र २८ बाच्छी छन् । अझै जोशीला ६७ वर्षीय भण्डारीको दैनिकी रोजगारीका खोजीमा विदेशिएका युवाका लागि अनुकरणीय बनेको छ ।
पोखराको विरौटास्थित कान्जीहाउसबाट भण्डारीले स्थानीय जातको बाच्छी ल्याए । त्यस समयमा उनले बाच्छी छोपिदिनेलाई २ सय तथा बाघमारासम्म ल्याएको १ सय ५० गाडी भाडा तिरे । पोखरा महानगरपालिका ३३ मा गाई फार्म सञ्चालन गरेका भण्डारी गाईपालक किसानका रूपमा चिनिएका छन् ।
‘स्वदेशमा पर्याप्त सम्भावना भए पनि पहिचान गर्न नसक्दा नेपालीले विदेशमा दुःख पाउने गरेका छन्,’ उनले भने । झण्डै २ दशकअघि बाघमारामा गाईपालनतर्फ सर्वसाधारण आकर्षित बन्दै गरेको अवस्थामा पशु सेवा कार्यालयको अनुदान सहयोगमा कृषकले बहर पाल्नका लागि समूह गठन गरेको भण्डारीले सुनाए । सो समूहमा आवद्ध भण्डारीले तत्कालीन समयमा समूहको सेयर सदस्यका लागि ३ सय तथा बहरको खुराकका लागि मासिक २५ तिरेका थिए ।
भण्डारीलाई उनकी श्रीमती चन्द्रमायाले निरन्तर सहयोग गरेकी छन् । भण्डारी दम्पतीको प्रत्यक्ष रेखदेखमा सञ्चालन भइरहेको सो फार्ममा ८ जनाले रोजगारी पाएका छन् । उनले गाईपालनबाटै पारिवारको पालनपोषण र छोराछोरीलाई शिक्षादीक्षा दिएका छन् । उनका छोरा ढाकारामले रसायन शास्त्रमा विद्यावारिधि गरिसके । भण्डारीले झण्डै ४० रोपनी जग्गामा तरकारीखेती समेत लगाएका छन् ।
उनले हाल दैनिक २ सय लिटर दूध बिक्री गर्दै आएका छन् । उनी भगवती चौतारा दूध संकलन केन्द्र, मारवाडी सेवा भोजनालय र देउराली होटेलमा दूध बिक्री गर्छन् । ‘माग अत्यधिक छ, पूरा गर्न सकेको छैन,’ भण्डारीले भने । एउटा गाईको सरदर आयु २३÷२४ वर्ष हुने गरेको अनुभव सुनाउँदै भण्डारीले २१ बेतसम्म ब्याउने गरेको बताए ।
दूधको मूल्य समयानुकूल समायोजन हुनुपर्नेमा उनले जोड दिए । दूधको मूल्य दुग्ध विकास बोर्डले निर्धारण गर्छ । व्यवसायिकताका नाममा कागजी प्रक्रिया मिलाएर गैर कृषकले अनुदान लिने क्रमलाई अन्त्य गर्दै राज्यबाट प्रदान गरिने अनुदान एवं अन्य सेवा सुविधा वास्तविक कृषकले पाउनुपर्नेमा भण्डारी जोड दिन्छन् ।