इन्द्रबहादुर राई नेपाली साहित्यमा एक जना स्थापित उपन्यासकार, कथाकार र समालोचकको नाम हो । विस १९८७ मा भारतको दार्जिलिङमा जन्मिएका राइले एमए, बिएलसम्म औपचारिक अध्ययन गरेका थिए । साहित्य अकादमी पुरस्कार (२०३५) लगायत थुप्रै संघ, संस्थाबाट सम्मानित, पुरस्कृत राईले आयामेली आन्दोलन, नेपाली साहित्य परिषद्, दियालो पत्रिकाको सम्पादक, साहित्य अकादमी दिल्लीको कार्यकारी सदस्य लगायतका अनेक जिम्मेवारी निर्वाह गरेका थिए । उनका विपना कतिपय (२०१७), कथास्था(२०२७), कठपुतलीको मन(२०४६), आज रमिता छ(२०२१), टिपेका टिप्पणीहरु(२०३१), नेपाली उपन्यासका आधारहरु (२०३१), सन्दर्भका ईश्वरवल्लभका कविता (२०३३) आदि कृति प्रकाशित छन् ।
बौद्धिक र प्रयोगवादी लेखकका रुपमा परिचित राईसँग २०६८ पुसमा गरिएको कुराकानी
उनकै निवास दार्जिलिङको लोसनगरमा फडिन्द्र अकिञ्चनले गरेको कुराकानी :
अहिले के लेखनमा व्यस्त हुनुहुन्छ ?
आफूले लेख्न चाहेको भन्दा बढ्ता अरुले लेख्न अनुरोध गरेका लेखहरु लेख्दा लेख्दै धेरै समय बितिरहेको छ । म लेख्न चाहन्थे शारदा शर्माका कवितामाथि, इन्दिरा प्रसाईका कवितामाथि, पद्मावती सिंहका उपन्यास र कथामाथि । मोहन कोइरालाको सिमसारका राजदूतमाथि पनि लेख्न चाहन्थे, समय पाएको छैन । एउटा नाटक लेख्न ठिकठाक गरेको त्यो पनि लेख्न पाएको छैन । यसै कारण आजकल साहित्यिक सभाहरुमा बोलाउँदा र डाकिँदा पनि उपस्थित हुन असर्मथता जनाई क्षमा माग्न थालेको छु ।
आयामेली आन्दोलनले नेपाली साहित्यलाई कस्तो प्रभाव पा¥यो ?
तिलविक्रम नेम्वाङ –वैरागी काइला), ईश्वरवल्लभ र म भएर १९६० को दशकमा आयामेली लेखन अगाडि बढायौं । ईश्वरवल्लभले यसअनुसार आगोका फूलहरु कविता संकलन तयार गर्नुभयो । जुन पुस्तकले प्रतिष्ठित मदन पुरस्कारसमेत प्राप्त ग¥यो । उहाँका अरु पनि राम्रा आयामिक कृति छन् । वैरागी काइलाले आफ्ना कविताको पहिलो संकलन प्रकाशित गर्नुभयो । जसमाथि धेरै समालोचकहरुले लेखिसक्नुभएको छ । उहाँको दोस्रो कविता संकलन अब प्रकाशित हुन लागेको छ । जसमा मैले छोटो, सानो भूमिका लेखिदिएको छु ।
अहिलेको नेपाली साहित्य लेखनको अवस्था कस्तो देख्नुभएको छ ?
नेपाली साहित्य लेखन अब नेपाल, भारत र यहाँभन्दा बाहिर अन्य देशमा पुगेका नेपालीहरुले पनि गर्दैछन् । पुस्तक पनि प्रकाशन भइरहेका छन् । यति विस्तारित रुप लिन लागेको नेपाली साहित्यको सम्बन्धमा पूर्ण रुपले केही भन्नु सजिलो काम छैन । नेपाल र भारतका नेपालीको लेखनको विषयमा त हामीलाई धेरथोर ज्ञान छ तर अरुतिर उदाहरणार्थ ः हङकङ । त्यहाँ कस्तो नेपाली लेखन भइराखेको छ, हामी धेरै भन्न सक्दैनौं ।
हङकङका देश सुब्बाले भयवाद नामको नयाँ लेखन थाल्नुभएको छ । त्यहाँको हङकङ नेपाली साहित्य परिषद्ले नयाँ लेखक, लेखिकालाई अगाडि बढाउन धेरै प्रयत्न गरेको छ । यसरी अन्यत्र भइराखेको नेपाली साहित्यिक लेखनको विषयमा हामीलाई थोरैमात्र जानकारी छ । हामीले हाम्रो जानकारी बढाउनुपरेको छ ।
जीवनलाई नयाँ कोणबाट हेर्ने आयामेली लेखन तपाइहरुले सुरु गर्नु भो, तपाईको विचारमा जीवनचाहिँ के हो ?
जीवन के हो ? यस प्रश्नको उत्तर खोज्नलाई मानव जाति र यसका महान् चिन्तकहरुले हजारौं वर्ष लगाइसके तर यसको अन्तिम उत्तर पाउन सकिएको छैन । अघिकाहरुले जीवन के हो भन्ने प्रश्नको उत्तर अर्कै दिन्थे, आजकाहरुले अर्थै दिन्छन् । पछिकाहरुले अझ अर्कै देलान् । यसरी काल अनुसार उत्तर हुने प्रश्न सायद अनुत्तरित नै रहला ।
जीवनको उत्तरार्धलाई कसरी उपयोग गर्ने सोच बनाउनुभएको छ ?
म अहिले ८५ वर्षको भएँ । अब उता मेरो जीवन नै कति पो रहेको होला ? (हास्दै) यतिञ्जेल बचाइमा धन कमाउन पट्टि लागिएन । परिवार पालनका निम्ति शिक्षको वृत्ति पछ्याएर सान्तोषपूर्वक बिताएँ । त्यसबाहेक कहिलेकाँही भारतीय नेपाली जातिमा आइपरेका विपद्हरुको समना गर्ने सामूहिक कार्यमा सहयोग गरियो ।
नेपाली भाषालाई भारतीय संविधानको आठौं अनुसूचीमा भारतको एक राष्ट्रिय भाषाको रुपमा मान्यता प्राप्त गराउने संस्थाको अध्यक्ष भएर कम गरियो । त्यसबाहेक अरु काम प्रायः जानेकै छैन, एउटै जानेको काम हो ः साहित्यिक लेखन । जति सकिँदो यही काम गरेर बाँकी जीवनका दिनलाई उपयोग गर्नुपर्छ भन्ने लागेको छ ।