संघर्षबाट सफल व्यवसायी : गीता

उद्योग, व्यवसायसम्बन्धी कार्यक्रम हुन् वा मेला, महोत्सव । साहित्यिक कार्यक्रम हुन् कि सामाजिक गतिविधि । पोखरामा हुने सबैजसो गतिविधिमा सक्रिय एउटा नाम हो ः गीताकुमारी तिवारी (गौतम) । उनी असोज ५ र ६ गते हुने पोखरा उद्योग वाणिज्य संघको महाधिवेसनमा उद्योगतर्फ उपाध्यक्षकी उम्मेदवार बनेकी थिइन् ।

अहिले पोखरा महानगरमा पर्ने साविक कालिकामा उनको जन्म भएको हो । उनी ६ वर्षकै हुँदा बुबाको निधन भयो । ३ छोरी र १ छोरालाई उनकी आमाले दुःखसुख पढाइन् । तिवारीका साथीहरु प्राथमिक तह पास भइसक्दा सबैजसोको विहे भइसकेको थियो । तर उनले त्यो नियति भोग्नुपरेन । अनेक हन्डर खाएर, दुःखसँग पौठेजोरी खेल्दै उनकी आमाले तिवारीलाई एसएलसीसम्म पढाइन् । उनी भन्छिन्, आमाको एकल साहास देखेर नै ममा केही गर्न सकिन्छ भन्ने ऊर्जा थपिन्छ ।

उनका ३ छोरी छन् । जेठी छोरी चिकित्सक बनिसकेकी छन् भने माइली छोरीले पनि डाक्टर सक्न लागेकी छन् । कान्छी छोरी भने स्कुल तहमै अध्ययनरत छिन् । कास्कीमा पोखरा उद्योग वाणिज्य संघको चुनावी माहोल तातिरहदा देशैभर भने बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारलाई न्याय दिन माग भइरहेको छ । दिनहुँजसो घटेका बलात्कार, हत्या, एसिड प्रहार र महिलामाथि हुने विभेदले भदौ १ गतेबाट जारी भएको नयाँ मुलुकी ऐनलाई गिज्याइरहेको छ ।

त्यो बेला छोरीलाई पढाउनुपर्दैन भन्ने युगमा विधवा आमाको साहास र चेतनाले उनले अवसर पाइन् । आमाबाट पाएको प्रेरणालाई उनले व्यवहारमा लागू गरिन् । तेस्रो सन्तान छोरी भएपछि उनलाई किन नफालेको भन्नेहरुको जमातमा समाजका प्रतिष्ठित, बुद्धिजीवी भनिनेहरु पनि थिए । उनी भन्छिन् ः छोरी भए भनेर सानो मन गर्नै पर्दैन । अरुले भाषणमा भन्छन्, म सकेसम्म व्यवहारमै लागू गर्छु । उनकी जेठी छोरी रोशनी एमडी गर्ने तयारीमा छिन् ।

तेस्रो सन्तान छोरी भएपछि उनलाई किन नफालेको भन्नेहरुको जमातमा समाजका प्रतिष्ठित, बुद्धिजीवी भनिनेहरु पनि थिए ।

एसएलसी दिएलगत्तै उनको कास्कीको पुरुन्चौरमा विहे भयो । आइए पढ्दै गर्दा उनले सिलाईबुनाइ तालिम लिइन् । सानो बच्चासँगसँगै उनले शिक्षा सेवा आयोगमा नाम निकालिन् । प्राथमिक तहकी स्थायी शिक्षक बनेकी उनका श्रीमान् पनि शिक्षण पेशामै संलग्न छन् । दुवै जना शिक्षणमा जाँदा छोरीहरुको स्याहारसुसार नहुने देखेर सरकारी जागिर छाड्नि । बगरमा पसल किनिन् । त्यो २०५२ सालतिरको कुरा हो ।
स्टेसनरी चलाइन् । पछि बुद्धविशाल बजार महेन्द्रपुलमा व्यवसाय सुरु गरिन् । यही बीचमा उनले समाजशास्त्रमा गरिसकेकी थिइन् । डिग्री पास गरेर किन यस्तो व्यवसायमा आएको भन्नेहरु पनि भेटिए । बाल्यकालमै उनी अरुभन्दा फरक थिइन् । तिवारीले भनिन्, दुःखीहरु देख्दा दया लाग्थ्यो, कविता लेख्थे । व्यवसायमा लागेपछि पनि नेतृत्वमा बस्ने, सामाजिक कार्यहरुमा संलग्न हुँदै गएँ ।

उनले एक कार्यकाल पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य भएर जिम्मेवारी पूरा गरिन् । उनी महिला उद्यमी विकास उपसमितिमा पनि मनोनित भइन् । राष्टिय औद्योगिक व्यापार मेलामा २ वटा उपसमितिको संयोजक भएर काम गर्ने अवसर पाइन् । हेटौडामा भएको राष्ट्रिय महिला उद्यमी भेलामा सहभागी भएर अनुभव बटुलिन् । पोखरामा उद्योगहरु निकै कम छन् । उनी राज्यले उद्योगीलाई प्रोत्साहन गरी उद्योगहरु सञ्चालनको वातावरण तयार गर्नुपर्ने बताउँछिन् । उद्योगीलाई नयाँ प्रविधि, आविष्कार, व्यवस्थापन जस्ता विषयमा तालिम दिएर औद्योगिक सम्भावना खोज्नुपर्ने उनको सुझाव छ ।

उनकै भनाइलाई मान्ने हो भने पोखरा उद्योग वाणिज्य संघमा करिब ५ सय वटा फर्म महिलाका छन् । महिलालाई तालिम, अभिमुखीकरणसँगै एड्भान्स कोर्षसम्म सिकाएर उद्यमी बनाउन सकिने उनको ठम्याइ छ ।

उनी समृद्धि हस्तकला, बुद्ध फेब्रिक ब्याग उद्योग र रेश्नी फेन्सी स्टोर्सकी सञ्चालक हुन् । उनी फेन्सी तथा रेडिमेड व्यवसायी संघ, नेपाल रेडक्रस सोसाइटी, बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन, अन्तर्राष्टिय नेपाली साहित्य समाज लगायतका सामाजिक संघ, संस्थामा संलग्न छिन् ।
सञ्चालनमा रहेका उद्योग, धन्दालाई निरन्तर सञ्चालन गर्न व्यवसायमैत्री आर्थिक नीति उनले आवश्यक ठानेकी छन् । राज्यले उद्योगी, व्यवसायीलाई कर असुल्ने माध्यमबाट बनाएको दाबी गर्दै यो पुरानो मान्यता बदल्नुपर्ने मत राख्छिन् । उनी भन्छिन् ः कर दिर्नु नागरिकको दायित्व हो । नागरिकको सुरक्षा र सेवा दिनु राज्यको । करको दर होइन, दायरा बढाऔं ।

कास्कीमै जन्मेहुर्केकी उनी यहाँका व्यवसायी, उद्योगीका समस्या, अहिलेको अवस्था र भावी चुनौतीबारे भलीभाँती जानकार छिन् । सानै व्यवसायबाट संघर्ष गर्दै आएकी उनलाई उद्योगी, व्यवसायीले व्यहोर्नुपर्ने समस्या, खानुपरेका हन्डर सबै सबै ज्ञान छन् । पोखरा देशकै ठूलो महानगर बनेको छ । नयाँ नयाँ सपिङ मलहरु बनिरहेका छन् । मिनी मार्केटहरुको संख्या बढेको छ । कतिपय पुराना बजारहरुको झमक भने फिक्का पनि भएको छ । उनी ऐतिहासिक त्यस्ता पुराना बजार र व्यवसायीलाई संरक्षण गर्नुपर्ने बताउँछिन् ।